हार ब्यहोर्दै गएपछि फुटबल टोलीका प्रशिक्षकले दिए राजीनामा
काठमाडौं, कात्तिक १३ । नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक म्याट रसले पदबाट राजीनामा दिएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले प्रशिक्षक रसले राजीनामा दिएको बताए ।
अस्ट्रेलियन प्रशिक्षक रसले दुई साताअघि नै भियनामविरूद्ध खेलिएको खेलपछि राजीनामा दिएको बुझिएको छ । नेपालले एएफसी एसियन कप छनोटअन्तर्गत मलेसियासँग मंसिर २ मा आफ्नो पाँचौ खेल खेल्दैछ ।
मलेसियाविरूद्ध खेल्नुअघि मुख्य प्रशिक्षकले राजीनामा दिएपछि अब एन्फाले सो खेलका कार्यवहाक प्रशिक्षक नियुक्त गर्ने महासचिव राईले बताए ।
मलेसियाविरूद्धको उक्त खेल घरेलु मैदानमा खेल्नु पर्ने भएपनि दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता नपाउँदा उक्त खेल मलेसियमै खेल्नु पर्ने बाध्यता छ ।
एसियन कप छनोटका यसअघिका चार खेलमा नेपालले रसको प्रशिक्षणमा खेल्दा चार खेल्दा सबै खेलमा पराजय भोगेको थियो । मलेसिया र लाओससँग एक एक खेल भियतनामसँग दुवै खेलमा पराजित भएसँगै नेपाल छनोटबाट बाहिरिसकेको छ ।
गत फागुनमा मुख्य प्रशिक्षक नियुक्त भएपछि रसको नेतृत्वमा नेपालले सात खेल खेल्यो । सात मध्ये नेपालले सिंगापुरलाई उसैको मैदानमा पराजित गरेको थियो भने दुई बराबरी र चार हार ब्यहो¥यो । ४७ वर्षीय रस युइएफए प्रो लाइसेन्स प्राप्त प्रशिक्षक हुन् ।
प्रकाशित मिति: १३ कार्तिक २०८२, बिहिबार
















