नेकपा एसका महासचिव भूसाल भन्छन्–माओवादी अझै फुट्न सक्छ



काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले माओवादीमा एकता गर्न चाहने पार्टी नेताहरुलाई माओवादी अहिलेको अवस्थामा नरहने ख्याल गर्ने सुझाव दिएका छन् ।

पार्टीको बैठकमा अहिले चलिरहेको एकताको विषयमा उनले सैद्धान्तिक विमति राख्दै माओवादी अवसरका लागि भौतारिँदा खिइँदै गएको र अब पनि यो रुपमा नरहने दाबी गरे ।

पटक–पटक विभाजित भएको माओवादी फेरिपनि विभाजित हुनसक्ने उनको तर्क थियो । १० वर्ष सँगै जनयुद्ध लडेका बाबुराम भट्टराई, विप्लज, मोहन वैद्यलगायतका नेताहरु प्रचण्डसँग छुट्टिसकेका छन् ।

महासचिव भूसालले भने–‘माओवादी आज जे छ त्यो रहन्न । यसको डिएनएको कारणले विभाजित हुन्छ । म पनि राम्रो सम्पर्कमा छु ।’

उनले आफू वामआन्दोलनको एकताको पक्षमा रहेको भन्दै नेता मात्र मिल्ने एकताको अर्थ नहुने बताए ।

बैठकमा उनले भने–‘हामीले २०७५ सालमा माओवादीसँग एकता गर्‍यौं । तर त्यो एकता भागबन्डामा आधारित थियो । त्यसैले निरन्तर हुन सकेन ।’

उनले अहिले पनि त्यस्तै गर्न खोजिएको भन्दै एकताको प्रयोग असफल हुने शंका व्यक्त गरे ।

माओवादीसँग एकता गर्नका लागि भन्दै तयार गरिएको जस्तो सिद्धान्तको कुरा गर्ने हो भने त एमालेसँगै एकता हुनसक्ने दाबी गर्दै उनले भने–‘एमाले जबज एउटा शब्द निकाल्ने हो भने त एमालेसँग पनि एकता हुनसक्छ ।’

उनले भने–‘वाम आन्दोलन असफल हुँदै जानुमा लिडरसिपको असफलता हो । माओवजादी अवसरका लागि भौतारिँदै छ । हिजो ३१ लाख भोट पाउने माओवादी ११ लाखमा पुग्यो अब कहाँ पुग्ने हो ख्याल गरौं ।’

प्रकाशित मिति: १३ कार्तिक २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्