विश्वकप छनोट लिग–२ : नेपाल आज अमेरिकासँग भिड्दै



काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आज तेस्रो खेल अमेरिकासँग खेल्दैछ । नेपालले लगातार दुई खेल हारिसकेको छ ।

आजको खेल संयुक्त अरब इमिरेट्स (यूएई) दुबईस्थित आईसीसी एकेडेमी ग्राउण्डमा विहान ११ः१५ बजेदेखि सुरु हुँदैछ । जारी शृंखलामा नेपाल र अमेरिका दोस्रोपटक आपसमा भिड्न लागेका हुन् ।

अघिल्ला दुवै खेलमा पराजित भएपछि नेपाली टोली दबाबमा छ भने अघिल्ला दुवै खेलमा विजयी भएको अमेरिकाको मनोबल निकै बढेको छ । नेपाली टोली पहिलो खेलमा अमेरिकासँग एक सय ६ रनको ठूलो अन्तरले पराजित भएको थियो ।

आफ्नो दोस्रो खेलमा पनि नेपाली टोली आयोजक यूएईसँग पाँच विकेटले पराजित भएको थियो । यूएई भने आफ्नो पहिलो खेलमा अमेरिकासँग चार विकेटले पराजित भएको थियो । यो शृंखलाबाट अमेरिकाले चार र यूएईले दुई अंक बटुलिसकेका छन् । नेपाल भने अझै अंकको खोजीमा छ ।

२२ खेलबाट ३२ अंक बटुलेको अमेरिका तालिकाको पहिलो स्थानमा छ । अमेरिकाले १६ खेलमा जीत र ६ खेलमा हारको नतिजा निकालेको छ । १८ खेलबाट केवल आठ अंक जोडेको नेपाल सातौँ स्थानमा आसिन छ ।

केवल पाँच खेलमा जीत हात पारेको नेपाल ११ खेलमा पराजित भएको छ । नेपालको दुई खेल भने अनिर्णित रूपमा सकिएको छ । यूएई भने आठ टोली सहभागी लिग–२ तालिकाको अन्तिम स्थानमा छ । यूएईले आठ अंकमात्र जोडन सकेको छ । यूएईले चार जीत र १४ हारको नतिजा निकालेको छ ।

प्रकाशित मिति: १५ कार्तिक २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्