सरुवा भएको ६० दिनसम्म उपसचिवले उद्योग विभाग छाडेनन्, महानिर्देशककै संरक्षण



काठमाडौ । गएको भदौ १२ गते भएको सरुवा भएका उपसचिवहरु अझै पनि खटाएको स्थानीय तहमा हाजिर हुन गएका छैनन् । निजामती सेवा ऐन नियममा सरुवा भएको २१ दिनभित्र खटाएको कार्यालयमा हाजिर हुन जानैपर्ने प्रावधान छ ।

तर उद्योग विभागमा कार्यरत उपसचिव सोमनाथ गौतम सरुवा भएको ६० दिन नाघिसक्दा पनि हाजिर हुनगएका छैनन् । उल्टै सरुवा भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट पत्र रोकाएर ‘सरुवा भएको हो र’ भन्दै उद्योग विभागको अनुमति शाखाको निर्देशक पद कब्जा गरेर बसेका छन् ।

गौतमको सरुवा धनुषाको हंसपुर नगरपालिकको प्रमुख प्रशासकीय अधिकृतमा भएको छ । तर उनी सरुवा भए पनि खटाएको ठाउँमा नगएर जेनजी आन्दोलनपछि बनेको सरकारलाई चुनौती दिइरहेका छन् ।

धनुषाको हंसपुर नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको कामकाज आजका मितिसम्म सर्वजीतकुमारले गर्दैआएको नगरप्रमुख प्रदीपकुमार यादवले बताए ।

उनले भने–‘सरुवा भएका उपसचिव नआउनुभएकाले सर्वजीतकुमारले नै निमित्त प्रमुख प्रशासकीय अधिकृतको काम गर्दै आउनु भएको छ ।’

हंसपुर नगरपालिकामा सरुवा भए पनि विभागमै हालीमुहाली गर्दैआएका गौतमलाई उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीको समेत साथ रहेको छ ।

उनको साथ पाएकाले आफू सरुवा नै नभएको जस्तो गरी विभाग कब्जा गरेर बसेका गौतमले सम्हालेको शाखामा उद्योग मन्त्रालयले इन्द्रकुमारी थपलिया र सुरेश दाहाललाई पठाएको छ ।

तर उनीहरुको पदस्थापन नगरी बिभागका महानिर्देशक ज्ञवालीले महत्वपूर्ण निर्णय प्रक्रियामा समेत गौतमलाई सहभागी गराउँदैआएका छन् ।

ज्ञवालीले उनको सरुवा बदर गराउने आश्वासन समेत दिएकाले बिभागमा गौतमको फुर्तिफार्ती झन् बढेको छ । ज्ञवालीले गौतममार्फत् सेटिङका काम गर्ने गरेकाले उनलाई संरक्षण गर्दै आएका छन् ।
गएको भदौ १२ गते सामान्य प्रशासन मन्त्रालयले १ सय २२ जना उपसचिवलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको थियो । जसमा गौतमको सरुवा हंसपुर नगरपालिकामा भएको थियो ।

काठमाडौं उपत्यकाका आकर्षक कार्यालयमा काम गर्ने उपसचिवहरुलाई तत्कालीन सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेकी थिइन् । उनले शक्ति र दबाब समेत अस्वीकार गरी उपसचिवहरुको सरुवा स्थानीय तहमा खटाएकी थिइन् ।

प्रकाशित मिति: १९ कार्तिक २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्