जेनजी आन्दोलन : विध्वंसमा संलग्न ३७५ जना पक्राउ, १४१ विरुद्ध मुद्दा
काठमाडौँ, कार्तिक २० । जेन–जी आन्दोलनको दोस्रो दिन २४ भदौमा भएको विध्वंसमा संलग्नहरूमध्ये हालसम्म ३७५ जना अभियुक्त पक्राउ परेका छन् ।
आन्दोलनका क्रममा अपराध कर्ममा संलग्न १४१ जनाविरुद्ध विभिन्न मुद्दा दायर गरिएको छ भने अपराध कर्ममा संलग्नहरूको खोजी कार्य जारी राखिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आपराधिक कार्य र विध्वंसमा संलग्न भएकाहरूलाई आपराधिक उपद्रव, कर्तव्य ज्यान, चोरी, अभद्र व्यवहार र हातहतियार खरखजाना शीर्षकमा मुद्दा दायर गरिएको हो । सबैभन्दा बढी काठमाडौं उपत्यकामा मात्रै २१८ जना पक्राउ परेका छन् । काठमाडांैका विभिन्न घटनामा संलग्न भएकाहरूविरुद्ध ९६ वटा मुद्दा दायर गरिएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्ने र मुद्दा दायर हुनेमा कोशी प्रदेशमा ३० जना पक्राउ र ४ वटा मुद्दा दायर गरिएको छ भने मधेसमा २१ जना पक्राउ र ६ वटा मुद्दा, वागमतीमा (उपत्यकाबाहेक) ३३ जना पक्राउ र ११ वटा मुद्दा र गण्डकी प्रदेशमा ३२ जना पक्राउ परेका छन् भने ७ जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।
यस्तै, लुम्बिनी प्रदेशमा २९ जना पक्राउ, ११ वटा मुद्दा, कर्णालीमा ४ जना पक्राउ र ३ वटा मुद्दा र सुदूरपश्चिम प्रदेशमा ८ जना पक्राउ र ३ वटा मुद्दा दायर गरिएको छ ।
जेन–जी आन्दोलनका क्रममा भदौ २३ गते सरकारबाट चरम दमन हुँदा सोही दिनमात्रै २१ जनाको मृत्यु भएको थियो भने सयांै घाइते भएका थिए । त्यसको प्रतिरोधस्वरूप २४ भदौमा मुलुकमा ठूलो विध्वंस र आपराधिक घटना भएको थियो । सोही दिन घुसपैठ गर्नेहरूले ३ जना प्रहरीलाई कुटीकुटी हत्या गरेका थिए ।
प्रकाशित मिति: २० कार्तिक २०८२, बिहिबार












