राष्ट्रियसभामा किसानका समस्या, इन्धन मूल्य र कक्षा १२ को नतिजाबारे सरकारको ध्यानाकर्षण
काठमाडौँ, १५ असार। राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले मनसुनको अनियमितताका कारण असार १५ पुग्दासमेत कतिपय किसानले धानको बीउसमेत राख्न नपाएको तथा मल, बीउ, सिँचाइ र प्रविधिको अभाव झेल्नुपरेको भन्दै समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराए।
उनीहरूले किसानको श्रमको उचित मूल्याङ्कन नगरी कृषि क्षेत्रको विकास सम्भव नहुने बताए। किसानमैत्री नीति, कृषि आधुनिकीकरण, कृषि उत्पादनको उचित मूल्य तथा खाद्य सुरक्षाको सुनिश्चितताका लागि प्रभावकारी कार्यक्रम ल्याउन पनि माग गरे।
सांसदहरूले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटे पनि नेपालमा मूल्य नघटाइएको भन्दै इन्धनको मूल्य तत्काल घटाउन सरकारसँग माग गरे।
बैठकमा भूमिहीन किसान, दलित र सुकुम्वासीको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउँदै उचित व्यवस्थापन नगरी बस्ती तथा होल्डिङ सेन्टरबाट हटाउने कार्यको विरोध पनि गरियो।
त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै त्यसको विरोध गरिएको छ।
सांसदहरूले कक्षा १२ को परीक्षाफल विद्यार्थीको भविष्यमा असर पर्ने गरी प्रकाशन भएको भन्दै त्यसमा सुधार गर्न सरकारसँग माग गरेका छन्।
प्रकाशित मिति: १५ असार २०८३, सोमबार












