विनियोजन विधेयकमाथि विचार गर्ने प्रस्ताव राष्ट्रियसभाबाट स्वीकृत



काठमाडौँ, १५ असार राष्ट्रियसभाको आजको बैठकले विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।

छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा. वाग्लेले शिक्षा क्षेत्रमा गरिब वर्गको पहुँच विस्तार गर्ने, दलित तथा गरिबीको रेखामुनि रहेका बालबालिकालाई पौष्टिक आहार उपलब्ध गराउने र विद्युत् क्षेत्रको प्रवर्द्धनलाई सरकारले प्राथमिकतामा राखेको बताए।

उनले आयकर र मूल्य अभिवृद्धि कर (भ्याट) प्रणालीमा सुधार गरी अर्थतन्त्रलाई थप औपचारिक, चलायमान, उद्योगमैत्री तथा निजी क्षेत्रमैत्री बनाउने र कर प्रणालीमा रहेका विकृति हटाउने व्यवस्था गरिएको पनि बताए।

प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा सहभागी सांसदहरूले बजेटले मध्यम वर्ग र गरिब नागरिकका आवश्यकतालाई पर्याप्त रूपमा सम्बोधन गर्न नसकेको बताए। उनीहरूले स्थानीय तथा प्रदेश सरकारलाई गरिने वित्तीय हस्तान्तरणसम्बन्धी व्यवस्था थप स्पष्ट बनाउन तथा बढ्दो महँगी नियन्त्रणमा सरकारको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए।

राष्ट्रियसभाको अर्को बैठक असार १७ गते बुधबार अपराह्न १ः१५ बजे बस्नेछ।

प्रकाशित मिति: १५ असार २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्