एन्फा मुख्यालयमा खेलाडीको धर्ना
काठमाडौं । नेपाली फुटबलमा विगत केही वर्ष यता देखिएको अव्यवस्था, लिग स्थगन, आर्थिक अपारदर्शिता र नेतृत्वको गैरजवाफदेहिताविरुद्ध फुटबलका सरोकारवालाहरुले धर्ना दिएका छन्।
बिहीवार बिहान अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा एक घण्टा धर्ना दिएका हुन्।
उनीहरुले एन्फा मुख्यालयमा धर्ना दिए। उनीहरुले एन्फा फुटबल एशोसिएशन की कन्सलटेन्सी, विश्वकप त चार वर्षमा आउँछ, ए डिभिजन कहिले आउँछ रु नो गेम, नो फ्रेमः एन्फाज टु ब्लेम, घरेलु लिग चलाउः फुटबल बचाउ, वाक्क लाग्दो एन्फाः दिक्क लाग्दो नेपाली फुटबल, फुटबल क्यालेण्डरमा होइन, ग्राउण्डमा चाहियो लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा खेलाडीका साथै फुटबल समर्थहरु पनि छन् । टकपटक लिग स्थगित नगर्न भने पनि बेवास्ता गरिएपछि प्रदर्शनमै उत्रिनु परेको खेलाडीको भनाइ छ ।
प्रदर्शन सुरु भएपछि एन्फामा सुरक्षा व्यवस्था कडा पारिएको छ । एन्फाको गेट बन्द गरेर भित्र प्रवेश गर्न रोक लगाइएको छ ।
एन्फा भित्रको नेतृत्व विवाद र आर्थिक पारदर्शिताको मुद्दाले नेपाली फुटबललाई लामो समयदेखि गाँजेको छ। हालै धुलिखेलमा सम्पन्न साधारण सभामा, अध्यक्ष पंकजविक्रम नेम्वाङमाथि क्लवहरूले आर्थिक अनियमितताको आरोप लगाएका छन्।
प्रकाशित मिति: २० कार्तिक २०८२, बिहिबार
















