वाणिज्य बैङ्कको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल



काठमाडौँ २० कात्तिक। राष्ट्रिय वाणिज्य बैङ्कले ‘छ प्रतिशत राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको ऋणपत्र–२०८९’ को धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । 

बैङ्कले रु एक हजारका दरले ३० लाख कित्ता बराबर हुन आउने रकम रु तीन अर्ब बराबरको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मा कुमारी क्यापिटललाई दिएको हो ।

आज राष्ट्रिय वाणिज्य बैङ्कको केन्द्रीय कार्यालयमा सो सम्बन्धमा सम्झौता भएको छ  । उक्त सम्झौतामा वाणिज्य बैङ्क लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गर्नुभएको छ ।

 सम्झौताअनुसार वाणिज्य बैङ्कले रु तीन अर्ब बराबरको ऋणपत्र जारी गर्नेछ । सो मध्यको ६० प्रतिशत अर्थात् १८ लाख कित्ताले हुन आउने रु एक अर्ब ८० करोड बराबरको रकम संस्थागत तथा व्यक्तिगत रूपमा तथा  ४० प्रतिशत अर्थात् १२ लाख कित्ताले हुन आउने रु एक अर्ब २० करोड बराबरको रकम सर्वसाधारणका लागि निष्कासन गरिने बैङ्कका उपकार्यकारी अधिकृत पवन रेग्मीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २० कार्तिक २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्