कांग्रेस फागुन २१ को निर्वाचनमा जानुपर्छ : नैनसिंह महर
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले फागुन २१ गतेको निर्वाचन लोकतन्त्रको प्राणवायु भएकाले तोकिएको मितिमै चुनाव सम्पन्न गराउन पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। गणेशमान सिंहको १११औँ जन्म जयन्तीका अवसरमा बोल्दै महरले निर्वाचन कांग्रेसको न्यूनतम सर्त भएको र आवधिक चुनावबिना लोकतन्त्र बलियो नहुने धारणा राखेका हुन्।
उनले पछिल्लो जेनजी संघर्षपछि उब्जिएको नयाँ परिस्थितिको सम्बोधन निर्वाचनमा जानु नै रहेको प्रस्ट पारे। कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले चुनावको खिलाफमा जाने वा विकल्प खोज्ने कुरा सोच्न पनि नसक्ने उनको भनाइ छ।
महरका अनुसार वर्तमान परिस्थितिको राष्ट्रिय राजनीतिक सम्झौता नै नयाँ सरकारले फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने हो र तोकिएको मितिमा चुनाव गर्नेभन्दा दायाँबायाँ जाने अधिकार कांग्रेसलाई छैन। उनले कांग्रेसको चालु केन्द्रीय समिति बैठकले एकढिक्का भएर २१ फागुनमा चुनावमा जाने निर्णय गर्ने र प्रजातान्त्रिक व्यवस्था बचाउन यो निर्णय अतिआवश्यक रहेको बताए।
यसका साथै उनले वर्तमान सरकारको रवैया चुनावकेन्द्रित कम देखिएको टिप्पणी गरे। लुटिएका हतियार नियन्त्रणमा लिने, भागेका कैदीलाई नियन्त्रणमा लिने जस्ता सुव्यवस्थित गर्ने कुरामा सरकारको चासो केन्द्रित नभएको उनको आरोप छ। महरले सरकार पूर्वाग्रही ढंगले प्रशासनमा बाँकी रहेका तुस साध्ने काममा लागेको भन्दै सरकार चुनाव केन्द्रित हुनुपर्नेमा जोड दिए।
प्रकाशित मिति: २४ कार्तिक २०८२, सोमबार
















