मधेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहण
जनकपुरधाम २५ कात्तिक । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले सात दलका नेता तथा कार्यकर्ताको विरोधका बीचमा आज साँझ मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पुगेर पदभार ग्रहण गर्नु भएको छ ।
मुख्यमन्त्री यादवलाई मधेश प्रदेशका निमित्त प्रमुख सचिव लालबाबु कवाडीले पदभार ग्रहण गराउनु भएको हो । मुख्यमन्त्रीले दुई वटा निर्णय गर्नु भएको छ ।
मुख्यमन्त्री यादवले मधेशभरि शान्ति सुरक्षाको अवस्थामा सुधार गर्दै सुदृढ बनाउनुका साथै मधेश आन्दोलनको क्रममा शहादत दिएका सबै शहीदहरूलाई मधेश रत्नले मरणोपरान्त सम्मानित गर्ने निर्णय गर्नु भएको निमित्त सचिव कवाडीले जानकारी दिनु भयो ।
उता सात दलका कार्यकर्ताहरूले मुख्यमन्त्रीलाई मधेश भवनमा प्रवेश गर्नमा अवरोध गर्नका लागि बाहिर टायर बालेर प्रदर्शन गरेपनि सुरक्षाकर्मीले सामान्य बल प्रयोग गरेर धपाएका थिए ।
प्रकाशित मिति: २५ कार्तिक २०८२, मंगलबार
















