एनपीएलको दोस्रो संस्करण आजदेखि, पहिलोपटक फ्लडलाइटमा खेलिँदै



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आजदेखि सुरु हुँदैछ ।

पहिलोपटक फ्लडलाइटमा खेल्न लागिएको यस प्रतियोगितामा ८ वटा टोली सहभागी हुँदैछन् । पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमान्डू गुर्खाजबीच खेल हुने छ । उद्घाटन खेल दिउँसो ४ बजेदेखि शुरु हुनेछ ।

यस संस्करणमा लिग चरणका खेलहरू नोभेम्बर १७ (मंसिर १ गते) देखि डिसेम्बर ७ (मंसिर २१ गते) सम्म चल्नेछन् । खेलहरू दुई सत्रमा सञ्चालन हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

पहिलो खेल बिहान ११ः४५ बजे र दोस्रो खेल दिउँसो ४ बजे सुरु हुनेछ । यो पटक त्रिवि क्रिकेट मैदानमा रातिको समयमा पनि खेल हुने छ ।

लिग चरणपछि डिसेम्बर ९ मा अंक तालिकामा पहिलो र दोस्रो स्थानमा रहेका टोलीबीच पहिलो क्वालिफायरको खेल हुनेछ । त्यसपछि डिसेम्बर १० मा तेस्रो र चौथो स्थानमा रहेका टोलीबीच एलिमिनेटर हुनेछ ।

डिसेम्बर ११ मा पहिलो क्वालिफायरको पराजित र एलिमिनेटरको विजेता टोलीबीच दोस्रो क्वालिफायर खेलिनेछ । यी सबै चरण पार गरेर फाइनलमा पुग्ने दुई टोलीबीच डिसेम्बर १३ मा अन्तिम खेल हुनेछ ।

प्रतियोगितामा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, लुम्बिनी लायन्स, काठमान्डु गोर्खाज, विराटनगर किङ्स, चितवन राइनोज, कर्णाली याक्स र पोखरा एभेन्जर्स गरी ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

जनकपुर बोल्ट्स पहिलो संस्करणको विजेता हो । जनकपुरले सुदूरपश्चिम रोयाल्सलाई पराजित गर्दै उपाधि जितेको थियो ।

प्रकाशित मिति: १ मंसिर २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्