ओलीविरुद्ध बोलेको भन्दै इटहरीका पूर्वप्रमुख चौधरी एमालेबाट निलम्बित, लेख्नेलाई स्पष्टीकरण



विराटनगर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेको भन्दै एमाले नेता तथा इटहरी उपमहानगरका पूर्वप्रमुख द्वारिकलाल चौधरी निलम्बनमा परेका छन् ।

कोशी प्रदेश समितिको नवौँ बैठकले प्रदेश कमिटी सदस्य चौधरीलाई कारबाही स्वरुप ६ महिनाका लागि निलम्बन गरेको हो ।

उनी २०७४ सालमा एमालेबाट इटहरीको मेयरमा निर्वाचित भएका थिए । चौधरी २०७९ सालको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअघि माओवादी केन्द्र प्रवेश गरेका थिए ।

माओवादी केन्द्रबाट सुनसरी निर्वाचन क्षेत्र-२ (१) बाट उम्मेदवार बनेका उनी चुनाव हारेपछि एमालेमा नै फर्किएका थिए । एमालेमा फर्किएपछि भने उनले अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गरिरहेका थिए । सचेत गराउँदा पनि अटेर गरेपछि उनलाई कारबाहीका लागि जिल्ला कमिटीले सिफारिस गरेको थियो ।

एमालेमा फर्किएपछि उनले अध्यक्ष केपी शर्मा ओलीकाविरुद्ध बोलिरहने र सचेत गराउँदा समेत अटेर गरेपछि निलम्बन गरेको बताइएको छ ।

यस्तै, प्रदेश कमिटीले सामाजिक सञ्जालमा ओलीविरुद्ध लेखेका प्राडा बद्रीविशाल पोखरेललाई स्पष्टीकरण सोधेको छ ।

सामाजिक सञ्जालमा अध्यक्ष ओलीको चर्को आलोचना गर्दै आएका प्राडा बद्रीविशाल पोखरेललाई स्पष्टीकरण सोध्ने निर्णय प्रदेश कमिटी बैठकले गरेको हो ।

बैठकले धर्मछोरीका रूपमा पालेकी छोरीलाई जबरजस्ती करणी गरेको मुद्दा खेपिरहेका एमाले प्रदेश कमिटी सल्लाहकार तथा बिर्तामोड नगरपालिकाका पूर्वप्रमुख ध्रुव सिवाकोटीलाई जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ ।

कुनै बेला ओलीका प्रिय रहेका पोखरेल पछिल्लो समय सामाजिक सञ्जालमा पार्टी हित विपरीत लेखेकोले स्पष्टीकरण सोधिएको प्रदेश अध्यक्ष घनश्याम खतिवडाको भनाइ छ ।

प्रकाशित मिति: ४ मंसिर २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्