आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका पुरुषको मृत्यु
काठमाडौँ, मंसिर १० । सर्लाहीको लालबन्दी नगरपालिका–७ डुमडुमेमा आफ्नै शरीरमा पेट्रोल छर्की आगो लगाएर गम्भीर घाइते भएका पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।
मंगलवार साँझ करिब ७ः४० बजेतिर स्थानीयले सो स्थानमा ४०–४५ वर्ष उमेरको एक पुरुष आगोले जलेर लडिरहेको देखेपछि ७ः५० बजे इलाका प्रहरी कार्यालय लालबन्दीलाई खबर गरेका थिए । सूचना पाएलगत्तै वीरेन्द्र सिंह जोहारीको कमाण्डमा खटिएको प्रहरी टोली ८ बजे घटनास्थल पुगेर उनलाई उद्दार गरेको थियो ।
९० प्रतिशत शरीर जलेका घाइतेलाई उनलाई तत्काल सीटी हेल्थ केयर लालबन्दी उपचारको लागि पठाएको थियो ।
अवस्था गम्भीर भएपछि उनलाई राति ९ बजे ज १ च १८९७ नम्बरको एम्बुलेन्समार्फत थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो । तर राति २ बजेतिर उपचारकै क्रममा उनको मृत्यु भएको जनकपुर अस्पतालले जनाएको छ ।
पहिचान खुलाउने क्रममा मृतकको मोबाइलबाट सम्पर्क खोज्दा उनी झापा, गौरादह नगरपालिका–२ का सूर्यप्रसाद पोख्रेल रहेको पुष्टि भएको सर्लाही प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १० मंसिर २०८२, बुधबार












