मनसुन सक्रिय भए पनि वर्षा औसतभन्दा ३० प्रतिशत कम
काठमाडौँ, १२ असार । देशभर मनसुन सक्रिय भए पनि अपेक्षाअनुसार वर्षा हुन नसक्दा हालसम्मको वर्षा औसतभन्दा उल्लेख्य रूपमा कम रहेको छ।
जल तथा मौसम विभागका अनुसार जुन १ देखि २५ तारिखसम्म देशभर औसत १४९ मिलिमिटर वर्षा मापन भएको छ, जुन यस अवधिको औसत वर्षा २१४ मिलिमिटरको ६९.६ प्रतिशत मात्र हो।
विभागको तथ्याङ्कअनुसार हरेक दिन दैनिक औसतको ९० प्रतिशतभन्दा कम वर्षा भएको छ। विशेषगरी महिनाको प्रारम्भिक दिनहरूमा वर्षा अत्यन्त न्यून रह्यो भने पछिल्ला दिनमा केही सुधार देखिए पनि सामान्य अवस्थासम्म पुग्न सकेको छैन।
मौसमविद् डेभिड ढकालले यस वर्ष मनसुन नेपालमा सरदर मितिभन्दा ढिलो प्रवेश गर्नुका साथै प्रारम्भिक चरणमा कमजोर सक्रिय रहेकाले वर्षा कम भएको बताए। उनका अनुसार कमजोर मनसुनका कारण धान रोपाइँ, जलस्रोत व्यवस्थापन तथा खानेपानी आपूर्तिमा समेत असर पर्न सक्ने देखिएको छ।
देशभर मनसुन अझै विस्तार हुन नसकेको मौसमविद्हरूले बताएका छन्। मौसमविद् ढकालका अनुसार हाल पाँच प्रदेशका केही भूभागमा मात्र मनसुनी प्रणाली पुगेको छ। प्रणाली अझै कमजोर रहेकाले बाँकी क्षेत्रमा विस्तार हुन केही दिन लाग्ने अनुमान गरिएको छ।
विभागले यस वर्षको मनसुन अवधिमा देशभर सरदरभन्दा कम वर्षा हुने र तापक्रम बढ्ने प्रक्षेपण गरेको छ।
विभागका मौसमविद् सुदर्शन हुमागाईँका अनुसार आगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना छ। कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश क्षेत्र, मधेस प्रदेशका पूर्वी भूभाग तथा कोशी प्रदेशका दक्षिणी क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको विभागले जनाएको छ।
प्रकाशित मिति: १२ असार २०८३, शुक्रबार












