निको कप महिला टी–२० क्रिकेटको फाइनलमा एपीएफ र कोशी प्रदेश भिड्ने
जनकपुरधाम, १२ असार । जनकपुरधाममा जारी निको कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल एपीएफ क्लब र कोशी प्रदेशबीच शनिबार प्रतिस्पर्धा हुने भएको छ।
मधेश प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालय, मधेश खेलकुद परिषद् तथा नेपाल खेलकुद महासङ्घको संयुक्त आयोजनामा निर्माणाधीन रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशाला, जनकपुरधाम र वीरगञ्जमा सेमिफाइनल खेल तय गरिएको थियो। वर्षाका कारण एउटा खेल रद्द हुँदा अर्को खेल भने सम्पन्न भएको थियो।
जनकपुरधाममा नेपाल एपीएफ क्लब र लुम्बिनी प्रदेशबीच हुने तय भएको सेमिफाइनल वर्षाका कारण रद्द भएपछि एपीएफ स्वतः फाइनलमा पुगेको हो।
उता, वीरगञ्जमा भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेशले बागमती प्रदेशलाई ८ रनले पराजित गर्दै उपाधि भिडन्तमा स्थान बनायो।
वर्षाका कारण २० ओभरको खेल १० ओभरमा झारिएको थियो। पहिले ब्याटिङ गरेको कोशीले एक विकेट गुमाएर ७२ रन बनायो। कोशीका लागि अप्सारी बेगमले १०, काजल श्रेष्ठले २९ तथा रुवीना क्षेत्रीले ३१ रन बनाइन्। बागमतीका तर्फबाट कञ्चन श्रेष्ठले एक विकेट लिइन्।
७३ रनको लक्ष्य पछ्याएको बागमतीले निर्धारित १० ओभरमा ६ विकेट गुमाएर ६४ रन मात्र बनाउन सक्यो। बागमतीका लागि अस्मिता कर्माचार्यले १७ र विपिसा शाहीले १३ रन बनाए। कोशीका तर्फबाट रुवीना क्षेत्रीले दुई तथा अलिसा केडिया, अप्सारी बेगम र टिका साहले समान एक–एक विकेट लिए।
सात प्रदेश र एक विभागीय टोलीसहित आठ टोली सहभागी रहेको प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ।
प्रकाशित मिति: १२ असार २०८३, शुक्रबार












