रास्वपाको सहमहामन्त्रीमा असिम शाह, हरि ढकाल, र निशा डाँगी निर्वाचित
चितवन, १२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदमा असिम शाह, हरि ढकाल र महिला सहमहामन्त्रीमा निशा डाँगी निर्वाचित भइन्।
चितवनको भरतपुरमा जारी महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा खुलातर्फका दुई सहमहामन्त्री पदका लागि ११ जनाबीच प्रतिस्पर्धा भएको थियो। सबैभन्दा बढी मत प्राप्त गर्दै असिम शाह र हरि ढकाल निर्वाचित भए।
शाहले ४७१ मत र ढकालले ४१० मत प्राप्त गरे। शाह प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार तथा संविधान संशोधन सम्बन्धी कार्यदलका संयोजकसमेत हुन्।
सहमहामन्त्री पदका अन्य उम्मेदवारमध्ये सुलभ खरेलले ३९१, पुकार बमले ३३४, रमेश प्रसाईंले ३०१, यज्ञमणि न्यौपानेले ३००, अशोककुमार चौधरीले १७९, मिलन लिम्बुले १५१, राजीव खत्रीले १४८, विजय जैरूले ११४ र हिमेश पन्तले ५३ मत प्राप्त गरे।
यस्तै, महिला सहमहामन्त्री पदमा निशा डाँगी ७३७ मतसहित निर्वाचित भइन्। उनी यसअघि कोशी प्रदेशबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन्।
महिला सहमहामन्त्री पदका लागि डाँगीसहित जुली यादव, जमुना शर्मा, कामिनीकुमारी चौधरी र रीमा विश्वकर्माबीच प्रतिस्पर्धा भएको थियो।
प्रकाशित मिति: १२ असार २०८३, शुक्रबार












