सर्वोच्चमा आगजनी: नेपाल ल क्याम्पसका पूर्वस्ववियु सभापति विष्णु ढुंगेल पक्राउ
काठमाडौं । सर्वोच्च अदालतमा आगजनी गरेको आरोपमा नेपाल ल क्याम्पसका पूर्वस्ववियु सभापति विष्णु ढुंगेल पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बुधबार ढुंगेललाई चितवनबाट पक्राउ गरेको हो।
भदौ २४ गतेको जेनजी आन्दोलन क्रममा सर्वोच्च अदालतमा आगजनी र तोडफोड भएको थियो ।
अदालतमा आगजनी भइरहेको एक भिडिओ सार्वजनिक भएको थियो। त्यसक्रममा ढुंगेल पनि त्याहा उपस्थित थिए।
त्यसपछि सभापति ढुंगेल किन त्यहाँ गएका थिए भन्ने विषयमा अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले गम्भीर अनुसन्धान गरेको थियो ।
उपलब्ध भिडियो फुटेजका आधारमा ढुंगेल पक्राउ परेका हुन् ।
सर्वोच्चले आगजनी गरेको घटनामाथि अनुसन्धान गर्न प्रहरीमा जाहेरी दिएको छ। उक्त जाहेरीका आधारमा प्रहरीले यसअघि ५ जनालाई पक्राउ गरिसकेको छ ।
उनीहरूमाथि आपराधिक उपद्रभ मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १० मंसिर २०८२, बुधबार












