एनपीएलमा आज दुईवटा रोमाञ्चक खेल हुँदै
काठमाडौं, मंसिर ११ । राजधानी काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुईवटा रोमाञ्चक खेलहरू हुँदैछन् ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलहरूमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच खेल हुने भएको हो ।
पहिलो खेल बिहान ११ः४५ बजे रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्सले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ ।
लगातार तीन जितका साथ ६ अङ्क जोडेको सुदूरपश्चिम अङ्क तालिकाको शीर्ष स्थानमा छ भने तीन खेलमा एक जित मात्र हात पारेको लुम्बिनी अङ्क तालिकाको छैटौँ स्थानमा छ । आजको खेलमा लुम्बिनी बलियो सुदूरपश्चिमलाई पराजित गर्दै अङ्क तालिकामा सुधार गर्ने लक्ष्यमा हुनेछ।
दोस्रो खेल अपराह्न ४ः०० बजे अनिल शाहको नेतृत्वमा रहेको साविक विजेता जनकपुर बोल्ट्स र कुशल भुर्तेलको नेतृत्वमा रहेको पोखरा एभेन्जर्सबीच हुनेछ । दुवै टोली यसअघिका खेलमा पराजित भएकाले अंकबिहीन रहँदै अंक तालिकाको पुछारमा छन् ।
आमाको नाम अंकित जर्सी लगाउने
आजको खेलमा जनकपुर बोल्ट्सले आमाहरूप्रति सम्मान अर्पण गर्दै विशेष जर्सी लगाउने घोषणा गरेको छ ।
जनकपुरका खेलाडीहरूले आ–आफ्नो आमाको नाम लेखिएको जर्सी लगाएर पोखरा विरुद्ध खेल्नेछन् । टोलीले आफ्ना खेलाडी ललित राजवंशीको आमाप्रति सम्मान व्यक्त गर्दै यो अवधारणा ल्याएको हो।
जनकपुर बोल्ट्सका अनुसार खेलपछि खेलाडीले लगाएका उक्त जर्सीहरू लिलामीमा राखिनेछ र त्यसबाट सङ्कलित रकम विभिन्न आमा समूहहरूलाई सहयोग स्वरूप हस्तान्तरण गरिनेछ ।
प्रकाशित मिति: ११ मंसिर २०८२, बिहिबार
















