माडी-ठोरी सडकखण्डमा वर्षौँदेखि अलपत्र पुलको ठेक्का तोडियो
चितवन । चितवनको माडी-ठोरी सडकखण्ड अन्तर्गत पटारी खोलामा वर्षौदेखि अलपत्र पुल निर्माणको ठेक्का तोडिएको छ ।
हुलाकी राजमार्ग निर्देशनालय, वीरगञ्जले सार्वजनिक सूचना जारी गर्दै अलपत्र ४१ मिटर लामो पुल निर्माणको ठेक्का तोडिएको जानकारी दिएको हो ।
४१ मिटर लामो पुल निर्माणको ठेक्का लोहनी एण्ड ब्रदर्श प्रालि भरतपुरले पाएको थियो ।
निर्माण व्यवसायीलाई १५ दिनभित्र स्पष्टीकरण पेस गर्न भनिए पनि कुनै जवाफ नआएको र कम्पनीको प्रतिनिधि सम्पर्कमा नआएपछि ठेक्का तोडिएको सूचनामा उल्लेख छ ।
ठेक्का तोडिएसँगै सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ र ९८० अनुसार कार्य सम्पादन जमानत जफत गरिने, बाँकी काम पूरा गर्न आवश्यक रकम सरकारी बाँकी सरह असुल गरिने र कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरिने जनाइएको छ ।
निर्माण व्यवसायी वा प्रतिनिधि १५ दिनभित्र नापजाँच र मूल्यांकनका लागि उपस्थित नभएमा कार्यालयबाटै प्रक्रिया अगाडि बढाइने पनि सूचनामा उल्लेख गरिएको छ ।
प्रकाशित मिति: १२ मंसिर २०८२, शुक्रबार
















