नेपालगन्जमा जिल्ला स्तरीय ‘नेपालगन्ज पम्प ट्रयाक च्यालेन्ज’ हुने



नेपालगन्ज । नेपालगन्जमा ‘जिल्ला स्तरीय नेपालगन्ज पम्प ट्रयाक च्यालेन्ज–२०२५’ हुने भएको छ । भोलि मङ्सिर १३ गते शनिबार हुने प्रतियोगिताको तयारी पूरा भएको कार्यक्रम संयोजक गगन थापाले बताउनुभयो । 

आज आयोजित पत्रकार सम्मेलनमा थापाले यस वर्ष बाँके जिल्लाका साइकलिष्टहरूले देउसी, भैलो खेलेर सङ्कलन गरेको रकमबाट प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिनुभयो । नेपालगन्ज वडा नम्बर १ तेजनगरमा अवस्थित भेलोसोलुसन नेपालगन्ज पम्प ट्र्याकमा प्रतियोगिता सञ्चालन हुँदैछ । प्रतियोगिताको व्यवस्थापकीय जिम्मेवारी नेपालगन्ज बाइसाइकलले गर्दैछ भने प्राविधिक सहकार्य जिल्ला साइक्लिङ संघ बाँकेले गरेको छ ।

नेपालको दोस्रो तथा ठूला पम्प ट्रयाक नेपालगन्ज पम्प ट्रयाक निर्माण भएको करिब दुई वर्षपछि पहिलोपटक औपचारिक प्रतियोगिता सञ्चालन हुन लागेको कार्यक्रम संयोजक थापाले बताउनुभयो । युवा तथा बालबालिकालाई खेलमा प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगितामा चार वटा उमेरगत विधा तथा बाँकेका भेट्रान खेलाडीहरूका लागि एक अतिरिक्त विधा समावेश गरिएको छ । विजेता खेलाडीहरूलाई नगद पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतियोगिता सम्पन्न गर्न द फार्म हाउस अफ म्युजिक, इभी नेपाल, ओम एडभरटाइजिङ्ग, लाइक माइन्ड, चौलानी बुक्स, नेपालगन्ज स्वास्थ्य पोलिक्लिनिक प्रालि तथा नेपालगन्ज साइक्लिङ क्लबले सहयोग गरेको आयोजकले जनाएको छ । 

प्रकाशित मिति: १२ मंसिर २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्