प्रधानमन्त्री कार्कीद्वारा चुनावी सुरक्षा तयारी सुदृढ गर्न सेनालाई निर्देशन
काठमाडौं, १२ मङ्सिर । प्रधानमन्त्री सुशीला कार्कीले आज नेपाली सेनाको मुख्यालय जङ्गी अड्डाको निरीक्षण भ्रमण गर्दै आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका सुरक्षा तयारीबारे प्रत्यक्ष जानकारी लिनुभएको छ ।
निरीक्षणका क्रममा नेपाली सेनाले वर्तमान सुरक्षा अवस्था, प्रमुख चुनौती र निकट भविष्यका योजनामाथि विस्तृत ब्रिफिङ प्रस्तुत गरेको थियो। सेनाले चुनाव सुरक्षाका लागि सैनिक परिचालनको योजना, संरचना र समन्वय प्रक्रियाबारे पनि विस्तृत प्रस्तुतीकरण गरेको जनाएको छ।
प्रधानमन्त्री कार्कीले आन्दोलनपश्चात् गठित सरकारले मुलुकभर शान्ति–सुरक्षा कायम गर्दै निर्धारित मितिमै निर्वाचन सम्पन्न गराउनु राष्ट्रिय उत्तरदायित्व रहेको उल्लेख गर्नुभयो।
उहाँले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न सेनाले पाएको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको जानकारी प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: १२ मंसिर २०८२, शुक्रबार












