सडक दुर्घटनामा वीरेन्द्रनगरका पत्रकार आचार्यको निधन
सुर्खेत, मंसिर १३ । सवारी दुर्घटनामा परी वीरेन्द्रनगरका पत्रकार वीरेन्द्र आचार्यको मृत्यु भएको छ ।
गएराति वीरेन्द्रनगर नगरपालिका–२ स्थित वडा कार्यालय अगाडि भएको दुर्घटनामा ३४ वर्षीय आचार्यको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । आचार्य रेडियो तिला आवाज कालिकोटका स्टेसन म्यानेजर तथा प्रेस सेन्टर कालिकोटका अध्यक्ष समेत हुन् ।
प्रहरीका अनुसार, मुलपानीबाट भुरेलीतर्फ जाँदै गर्दा २३ वर्षीय यामबहादुर शाहीले चलाएको कर्णाली प्रदेश ०२००३ प १७४४ नम्बरको मोटरसाइकल र आचार्य सवार लुम्बिनी ३६ प ३८८६ नम्बरको स्कुटर एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा मोटरसाइकल चालक शाही पनि घाइते भएका छन्। उनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १३ मंसिर २०८२, शनिबार












