एमालेले आज देशभर प्रतिनिधि छनौट गर्दै
काठमाडौँ, मंसिर १३ । नेकपा एमालेले आज एघारौँ महाधिवेशनका लागि देशभर प्रतिनिधि छनौट गर्दैछ ।
मङ्सिर ११ गते प्रतिनिधि निर्वाचनका लागि उम्मेदवारी मनोनयन भएकाहरुमध्ये सहमति नजुटेका क्षेत्रहरूमा आज बिहान ८ बजेदेखि निर्वाचन सुरु भएको हो ।
एमालेको कुल सङ्गठित सदस्य संख्या ६ लाख ६७ हजार ६३० सदस्य मध्ये प्रदेशबाट ४५, प्रतिनिधि सभाको निर्वाचन क्षेत्रबाट करिब ९७०, विशेष जिल्लाबाट ४७, दलितबाट ८१, ट्रेड युनियनबाट ४९, यस्तै प्रवासबाट, केन्द्रीय विभाग र कार्यालयबाट, जनसंगठनबाट सहित गरी अनुमानित १९ सय भन्दा बढी प्रतिनिधि रहनेछन्।
पाँच प्रतिशत प्रतिनिधि केन्द्रीय कमिटीले मनोनयन गर्नेछ। यी सबै जोड्दा कुल २१ सय भन्दा बढी प्रतिनिधि रहने अनुमान गरिएको छ । पार्टीको एघारौँ महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदैछ ।
प्रकाशित मिति: १३ मंसिर २०८२, शनिबार












