‘गाउँछ गीत’काे अडिसन सुरू, विजेताले २५ लाख पुरस्कार पाउने
काठमाडौँ १३ मङ्सिर । गायन रियालिटी शो ‘गाउँछ गीत’ को घोषणा भएको छ ।
आयोजक एच एस साइनाले शनिबार राजधानीमा पत्रकार सम्मेले गरी शो को डिजिटल अडिसन सुरू भएकाे घोषण गरेको हो ।
प्राइम टेलिभिजनबाट प्रसारण हुने शो को विजेताले २५ लाख पुरस्कार पाउने पत्रकार सम्मेलनमा जाकारी दिइयो ।
शो छाँयाङ्कन आगामी पुसदेखि हुने र माघ दोस्रो सातादेखि प्राइम टेलिभिजनबाट प्रसारणमा आउने शोका निर्देशक अर्जुन पोखरेलले जानकारी दिए ।
प्रतियोगिताको निर्णायकहरूमा सङ्गीता राना प्रधान, गायक तथा सङ्गीतकार थानेश्वर गौतम र गायिका साहिमा श्रेष्ठ रहेका छन् । प्रतियोगितालाई उद्घोषकद्वय स्टान्डअप कमेडियन सीता न्यौपाने र अनुप भण्डारीले सञ्चालन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
वरिष्ठ सङ्गीतकार दीपक जङ्गमको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कवि गीतकार तथा नेवानीका निवर्तमान कार्यकारी अध्यक्ष युवराज अधिकारी, पत्रकार ऋषि धमलालगायतका अतिथिहरूले शुभकामना दिएका थिए ।
रोजी शर्माको परिकल्पनामा एच एस साइना कृयसनको निर्माणमा हुने प्रतियोगिता नेपाल भित्र अथवा नेपाल बाहिर छरिएर रहेका प्रतिभाहरूलाई एउटै मञ्चमा समेटेर उनीहरूको गायन क्षमतालाई राष्ट्रिय स्तरमा स्थापित गर्ने उद्देश्यका साथ प्रारम्भ गरिएको आयोजकको भनाइ छ ।
कार्यक्रमले सङ्गीतको मौलिकता, विविधता र सांस्कृतिक पहिचान संरक्षण गर्दै नयाँ पुस्तामा सङ्गीत प्रति उत्साह र प्रेरणा जगाउने अपेक्षा राखेको छ ।
यस प्रतियोगितामा १६ वर्ष भन्दा माथि सबै उमेर समूहका व्यक्तिहरूले सहभागिता जनाउन सक्नेछन् ।
प्रकाशित मिति: १३ मंसिर २०८२, शनिबार







