रास्वपा र विवेकशील साझा पार्टीबीच आज एकता हुँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच आज एकता हुँदैछ ।
यी दुई दलबीच आज दिउँसो २ बजे राष्ट्रिय सभागृहमा एकता घोषणा सभा हुन लागेको हो ।
२०६९ सालमा उज्ज्वल थापाको नेतृत्वमा विवेकशील अभियान सुरु भएको थियो । २०७० सालमा विवेकशील नेपाली दल गठन भई चुनावी प्रतिस्पर्धामा सुरु गरेको थियो । रास्वपा भने २०७९ असार ७ गते स्थापना भएको हो ।
हाल विवेकशील साझा पार्टीको अध्यक्ष समीक्षा बास्कोटा र महासचिव रञ्जु दर्शना छन् । रास्वपा सभापति रवि लामिछाने छन् तर उनी हाल सहकारी ठगी प्रकरणको अभियोगमा जेलमा छन् । हाल कार्यबाहक सभापतिको रुपमा डीपी अर्याल छन् ।
पार्टीको नाम, चुनाव चिह्न र नेतृत्व रास्वपाकै रहने गरी विवेकशील साझाले निःशर्त स्वीकार गरेको छ ।
राष्ट्रिय सभामा गृहमा हुने एकता घोषणा सभालाई रास्वपा र विवेकशील साझा पार्टीका उच्चपदस्थ नेताहरुले सम्बोधन गर्नेछन् । सोही कार्यक्रममा विवेकशील साझाले आफ्नो विपत् कोषमा रहेको ३३ लाख रुपैयाँ हस्तान्तरण गर्ने कार्यक्रमसमेत छ ।
विवेकशील साझाका बागमती प्रदेशका पूर्व सांसद रमेश पौडेल, नेता आशुतोष तिवारी लगायतका नेताहरु भने एकताको पक्षमा नरहेको बताइएको छ ।
प्रकाशित मिति: १४ मंसिर २०८२, आइतबार












