जनकपुरमा एक महिलाको शंकास्पद मृत्यु, श्रीमान र ससुरा पक्राउ
जनकपुरधाम । जनकपुर उपमहानगरपालिका–४ कटैयाचौरीमा एक महिलाको शंकास्पद मृत्यु भएको छ ।
यहाँस्थित एक घरमा २७ वर्षीया रोशनी झा मृत फेला परेकी हुन् । उनी गत बिहीबार राति मृत फेला परेकी थिइन् ।
उक्त घटनामा मृतकका श्रीमानलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
घरका सदस्यहरुले रोशनीले पासो लगाएर आत्महत्या गरेको जानकारी माइती पक्षलाई दिएका थिए । माइती पक्षले भने घरकै सदस्यहरु मिलेर रोशनीको हत्या गरेको आरोप लगाएको छ ।
रोशनीको माइत घर धनुषाको नगराइन नगरपालिका २ जटही हो । उनको चार वर्ष अघि सामाजिक परम्परा अनुसार प्रशान्त मिश्रसँगको बिहे भएको थियो ।
रोशनीका पति प्रशान्त मधेश प्रदेशको नीति तथा योजना आयोगका कर्मचारी भएको बताइएको छ ।
माइती पक्षले हत्या भएको दाबी गर्दै जिल्ला प्रहरी कार्यालय धनुषामा रोशनीका पति प्रशान्त मिश्र र ससुरा रुद्रनारायण मिश्रविरुद्ध उजुरी दिएका थिए । उजुरीपछि प्रहरीले उनीहरुलाई आइतबार नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: १५ मंसिर २०८२, सोमबार












