कांग्रेसको महाधिवेशन पुस २७, २८ र २९ गते
काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन पुस २७, २८ र २९ गते हुने भएको छ ।
पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको केन्द्रीय कार्य समितिका बैठकले १५ औं महाधिवेशन उक्त मितिमा गर्ने सर्वसम्मत निर्णय गरेको हो ।
कांग्रेसले महाधिवेशनअघि गर्नुपर्ने कामको कार्यतालिका समेत सार्वजनिक गरेको छ ।
केन्द्रीय कार्यसमिति बैठकले वर्तमान कार्यसमितिको समयावधि पनि माघसम्मका लागि थप गरेको छ ।
कार्यतालिका अनुसार कांग्रेसले पुस १६ गते वडा अधिवेशन गर्ने भएको छ । बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कार्यतालिका पेस गर्दै गाउँ–नगर अधिवेशन पुस १७ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस १९ गते हुने बताए ।
उनका अनुसार एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा पुस २१ गते र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला अधिवेशन पुस २२ गते हुने भएको छ ।
कांग्रेसको प्रदेश अधिवेशन पुस २२ र २३ गते हुने कार्यवाहक सभापति खड्काले बताए ।
प्रकाशित मिति: १५ मंसिर २०८२, सोमबार
















