बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा



काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा निर्माण भएको रसुवागढी जलविद्युत आयोजना आंशिक सञ्चालनमा आएको छ।

गत असार २४ गते बिहान चीनको तिब्बतबाट बग्ने ल्येन्दे खोलामा हिमताल विष्फोटनबाट आएको बाढीले आयोजनाको बाँधलगायतका संरचना ९हेडवक्स०मा ठूलो क्षति पुर्याएको थियो।

हेडवक्सको मर्मतपछि अस्थायी रुपमा नदीबाट पानी पथान्तरण डाइभर्सनगरी विद्युतगृहमा रहेका तीनवटा युनिटमध्ये एउटा युनिट शनिबारबाट सञ्चालनमा ल्याइएको हो।

१११ मेगावाट जडित क्षमताको आयोजनाको एउटा युनिटबाट ३७ मेगावाट विद्युत उत्पादन हुन्छ। बाँकी दुईवटा युनिट एक महिनाभित्र संचालनमा ल्याउने र हेडवक्स क्षेत्रको बाँकी मर्मत कार्य आगामी वर्षायाम अगाडिनै सम्पन्न गर्ने गरी पुनर्निर्माणको काम भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले बताए।

कार्यकारी निर्देशक सिलवालले प्राधिकरण, चिलिमे र रसुवागढी हाइड्रोपावर कम्पनीका पदाधिकारी तथा कर्मचारीको अथक प्रयास र मेहनतबाट क्षति पुर्याएका संरचनाको मर्मत गरी आयोजना सञ्चालनमा ल्याउन सफल भएको उल्लेख गरे।

उनले भने, ‘आयोजनाबाट विद्युत उत्पादन सुरुभएपछि हिउँदयामको विद्युत माग व्यवस्थापन गर्न केही सहज हुनेछ।’

प्रकाशित मिति: २१ मंसिर २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्