बर्दियाको राजापुरमा गोली प्रहारबाट एक जनाको हत्या
बर्दिया, मंसिर २२ । बर्दियाको राजापुरमा गोली प्रहार गरेर एक जनाको हत्या गरिएको छ ।
राजापुर नगरपालिका–४ स्थित हमार थारु घर थारु रेष्टुरेन्टमा कार्यरत दाङ, तुलसीपुर नगरपालिका– ५ का २७ वर्षीय निरज चौधरीलाई गोली प्रहार गरी हत्या गरिएको गरिएको प्रहरीले जनाएको छ ।
अचेत अवस्थामा थारु घरमा फेला परेपछि उपचारका लागि नेपालगन्जस्थित शिक्षण अस्पतालमा लगिएकोमा त्यही मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीले बताए ।
उनका अनुसार गोली उनको गाला र दुबै कानमा लागेको छ । घटनास्थलबाट गोलीका खोका फेला परेको छ ।
उनको शव पोष्टमार्टमका लागि नेपालगन्जमा राखिएको छ । उनीमाथि गोली प्रहार गर्ने मानिस मोटरसाइकलमा फरार भएको प्रहरीले जनाएको छ ।
कसले र किन हत्या गरेको हो भन्ने खुलेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरील्े जनाएको छ ।
प्रकाशित मिति: २२ मंसिर २०८२, सोमबार












