नागढुङ्गा–नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडौं, मंसिर २२ । नागढुङ्गा–नौबिसे–मलेखु सडक खण्ड आंशिक बन्द गरेर निर्माणको काम अगाडि बढाउने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौं र धादिङले संयुक्त सूचना जारी गर्दै यही मंसिर २४ देखि पुस १ गतेसम्म सडक बन्द हुने जानकारी दिएका हुन् ।
जसअनुसार नागढुङ्गादेखि पिप्लामोडसम्म र पोखरेभिर क्षेत्रमा यही मङ्सिर २४ गतेदेखि आगामी पुस १ गतेसम्म बिहान साढे १० देखि दिउँसो साढे ३ बजेसम्म सडक आवागमन बन्द हुनेछ ।
सूचना अनुसार सीतापाईला भिमढुङ्गा, रामकोट धार्के सडक, सामाखुसी टोखा–छहरे सडक वैकल्पिक रुपमा प्रयोग गर्न सकिने छ ।
रोकिएका सबै सवारीसाधनलाई दिउँसो साढे ३ बजेपछि मात्र छाडिने सूचनामा उल्लेख छ ।
प्रकाशित मिति: २२ मंसिर २०८२, सोमबार












