भतिजी बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासूको मृत्यु, ससुरा घाइते
मोरङ । मोरङको बेलबारीमा भतिजी बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासूको मृत्यु भएको छ भने ससुरा गम्भीर घाइते भएका छन् ।
बेलबारी नगरपालिका–२ मा ३२ वर्षीया भतिजी बुहारी सुनिता राईले विष मिलाएको खाना खुवाउँदा उनकी सासु ७७ वर्षीया ईन्द्रमाया राईको शनिबार राति मृत्यु भएको हो ।
विषयुक्त खाना खाएपछि वृद्ध दम्पती ७० वर्षीय भक्तबहादुर राई र ७७ वर्षीया श्रीमती ईन्द्रमाया राई गम्भीर घाइते भएका थिए ।
नोबेल मेडिकल कलेजमा उपचारका क्रममा इन्द्रमायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी हरिनन्दन चौधरीले जानकारी दिए । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले भतिजी बुहारी कार्कीलाई पक्राउ गरेको छ ।
दिउँसो करिब ३ बजे स्थानीयले भक्तबहादुर राईलाई घर नजिकै खोल्सीमा र ईन्द्रमाया राईलाई घरमै बेहोस अवस्थामा भेटेका थिए ।
विष खाएको आशंकामा स्थानीयले वृद्ध दम्पतिलाई उपचारका लागि नोबेल मेडिकल कलेजमा पठाएको थियो । त्यसक्रममा ईन्द्रमाया राईको मृत्यु भएको हो भने भक्तबहादुर राईको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा खानामा विष मिसाइएको तथ्य खुलेको प्रहरीले बताएको छ । पारिवारिक विवादका कारण यो घटना भएको देखिएको प्रहरी स्रोतले जनाएको छ ।
प्रकाशित मिति: २२ मंसिर २०८२, सोमबार












