बागलुङमा यसवर्ष धान उत्पादन बढ्यो
बागलुङ, मंसिर २४ । यसवर्ष बागलुङमा धान उत्पादन बढेको छ । समयमा वर्षा हुँदा उत्पादन वृद्धि भएको हो ।
कृषि ज्ञान केन्द्रका अनुसार गत वर्षको तुलनामा यसवर्ष ८४ दशमलव चार मेट्रिकटन धान उत्पादन भएको केन्द्रकी सूचना अधिकारी प्रतिभा शर्माले जानकारी दिइन् । अघिल्लो वर्ष २० हजार मेट्रिकटन धान उत्पादन भएको थियो । यसवर्ष २० हजार ७८४.४ मेट्रिकटन उत्पादन भएको छ ।
अघिल्लो वर्ष रोपाइँ सकिएपछि धानमा जरा कुहिने रोग लाग्दा उत्पादनमा ह्रास आएको भन्दै यसपाली कम क्षति हुँदा उत्पादन केही परिणाममा बढेको शर्माले बताइन्। बागलुङ धान उत्पादनमा आत्मनिर्भर छैन ।
यहाँका किसानले खुमल ४, जेठो बुढो, लुम्ले २, झिनुवा, खुमल ११, खुमल बासमती १०, मार्सी, जडन लगायतका जात लगाइएकोखेती गर्दै आएको शर्मा बताउनुछिन् । पछिल्लो समय आइब्रिड जातका धानखेती गर्न थालेको उनको भनाइ छ ।
जिल्लाको पश्चिम गलकोट, रेशा, सिगाना, जैदी, छिस्तीलगायतका क्षेत्रमा बाहेक धेरै स्थानमा सिँचाइको व्यवस्था छैन । यसवर्ष धान भित्र्याउने समयमा ठूलो वर्षा भए पनि उत्पादन नघटेको गलकोट नगरपालिका–६ का किसान कृष्ण खत्रीले बताए । अघिल्लो वर्षको तुलनामा तीन मुरी धान बढी उत्पादन भएको उनको भनाइ छ ।
जैमिनी नगरपालिका–७ का नरेन्द्र पौडेलले गतवर्ष १३ मुरी धान उत्पादन भएको खेतमा यसवर्ष १६ मुरी फलेको बताए । गत वर्ष वर्षा ढिलो हुँदा सिँचाइमा गर्न नपाएको भन्दै यसवर्ष त्यस्तो समस्या नभएको सुनाए ।
बागलुङमा ४६ हजार १४८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकोमा ३० हजार पाँच सय २३ हेक्टर क्षेत्रफलमा मात्र खेती हुँदै आएको छ । छ हजार एक सय ४८ हेक्टर क्षेत्रफलमा मात्र सिँचाइ सुविधा छ ।
प्रकाशित मिति: २४ मंसिर २०८२, बुधबार












