रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि राति ९ः१५ बजेदेखि मतदान



चितवन, ११ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि बुधबार राति ९ः१५ बजेदेखि मतदान हुने भएको छ ।

निर्वाचन आयोगले पाँचौँ पटक संशोधन गरेको कार्यतालिकाअनुसार पदाधिकारी पदका लागि मतदान मध्यराति १२ः१५ बजेसम्म सञ्चालन हुनेछ ।

निर्वाचन तालिकाअनुसार साँझ ६ः३० देखि ७ बजेसम्म उम्मेदवारी फाराम वितरण, ७ः३० बजे प्रारम्भिक नामावली प्रकाशन, ८ बजेसम्म दाबी–विरोध दर्ता तथा ८ः१५ बजेसम्म दाबी–विरोधमाथि जाँचबुझ गरिनेछ ।

उम्मेदवारी फिर्ता लिन ८ः३० बजेसम्म समय दिइएको छ भने ८ः४५ बजे अन्तिम नामावली प्रकाशन गरिनेछ । त्यसपछि ८ः४५ देखि ९ः१५ बजेसम्म मौन अवधि कायम रहनेछ ।

निर्वाचन कार्यतालिकाअनुसार राति १२ः१५ देखि १ः१५ बजेसम्म मतगणना गरिने र राति १ः३० बजे नतिजा सार्वजनिक गरिनेछ ।

महाधिवेशनमा उपसभापति, महिला उपसभापति, महामन्त्री, दुई खुला सहमहामन्त्री र एक महिला सहमहामन्त्री पदका लागि निर्वाचन हुँदैछ ।

रास्वपाका नेता मनीष झाले छ पदाधिकारीका लागि मतदान गर्न एक प्रतिनिधिलाई करिब चारदेखि पाँच मिनेट लाग्ने अनुमान गरिएको बताएका छन् ।

यसअघि केन्द्रीय सदस्य पदका लागि सम्पन्न मतदानमा दुई हजार ९५९ मत खसेको निर्वाचन आयोगले जनाएको छ । ९९ केन्द्रीय सदस्य पदका लागि ३८४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

खुलातर्फ ६४ पदका लागि २१० जना र भूगोलतर्फ ३५ पदका लागि १७४ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । सातै प्रदेशबाट पाँच–पाँच जना निर्वाचित हुने व्यवस्था गरिएको छ ।

रास्वपाको विधानअनुसार पार्टीमा १५८ सदस्यीय केन्द्रीय समिति रहनेछ । तीमध्ये ९९ जना निर्वाचित हुनेछन् भने ५१ जना मनोनीत गरिनेछन् । सात प्रदेशका सभापति पदेन सदस्य रहने व्यवस्था पनि विधानमा छ ।

विधानअनुसार सभापति र केन्द्रीय सदस्यको निर्वाचन सम्पन्न भएपछि मात्रै पदाधिकारीको निर्वाचन हुने व्यवस्था छ । पार्टी सभापतिमा रवि लामिछाने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रकाशित मिति: ११ असार २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्