विकास निर्माणका काममा ढिलासुस्ती नगर्न मन्त्री घिसिङको निर्देशन
रौतहट । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले शुक्रबार रौतहटको विभिन्न विकास निर्माण योजनाहरूको अनुगमन गर्नुभएको छ ।
मन्त्री घिसिङको अवलोकन कार्यक्रममा पहिलो कदम चन्द्रपुर नगरपालिका–८ स्थित जन्म उत्सव पार्कमा वृक्षारोपणको आयोजना थियो ।
“जन्मदिनलाई सत्कर्ममा जोडौँ“ अभियानअन्तर्गत स्थानीय समुदायसँग मिलेर वृक्षारोपण गर्ने कार्यक्रम आयोजना गरिएको थियो । यस अभियानको मुख्य उद्देश्य वनजङ्गलको संरक्षण र वातावरणको सुधार गर्नु रहेको अभियन्ता गोविन्द चौलागाँइले जानकारी दिनुभयो । यस कार्यक्रमले स्थानीय स्तरमा वातावरणीय जागरूकता पनि बढाएको उहाँले बताउनुभयो ।
सो कार्यक्रम पछि मन्त्री घिसिङले रौतहटको चन्द्रपुर नगरपालिका–३ स्थित चन्द्रनिगापुर–गैंडाटार जोड्ने नौ वर्षदेखि अधुरो रहेको पुलको अनुगमन गर्नुभयो । पुल निर्माण कार्यमा भएको ढिलाइका कारण मन्त्रीले गम्भीर असन्तुष्टि व्यक्त गर्दै ठेकेदार कम्पनीलाई तत्काल काम अगाडि बढाउन निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “यदि ठेकेदार कम्पनीले काममा आलटाल गरे भने ठेक्का तोड्न पनि पछि हट्ने छैनौँ ।”
त्यसपछि मन्त्री घिसिङले गौर स्थित बरहरवा खोलामा निर्माणाधीन अर्को पुलको पनि अनुगमन गर्दै ठेकेदार कम्पनीलाई शीघ्र काम पूरा गर्न कडा निर्देशन दिनुभयो । उहाँले यस प्रकारका ढिलाइहरूलाई स्थानीय विकासमा गम्भीर असर पर्ने भन्दै यसलाई तुरुन्त सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रकाशित मिति: २६ मंसिर २०८२, शुक्रबार












