कांग्रेसद्वारा बाँकेबाट राष्ट्रिय सभाको उम्मेदवारका लागि १८ जनाको नाम सिफारिस



नेपालगञ्ज । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि काँग्रेसले बाँकेबाट १८ जनाको नाम सिफारिस गरेको छ ।

कांग्रेस बाँकेले ३ वटा क्षेत्रका १३ जनाको नाम सिफारिस गरेको छ भने अन्य ५ जनाको नाम क्षेत्र नम्बर ३ ले सिफारिस गरेको बताइएको छ । यद्यपि क्षेत्र नम्बर ३ ले जिल्लामा नाम पठाएको भने छैन  । 

नेपाली कांग्रेस बाँके जिल्ला कार्यसमितिले क्षेत्र नम्बर १ बाट राष्ट्रिय सभा सदस्यतर्फ बलराम शर्मा, लुट बहादुर खत्री र रामचन्द्र मौर्यको नाम प्रदेशमा सिफारिस गरेको छ । यस्तै क्षेत्र नम्बर २ बाट महासमिति सदस्य निरञ्जन सिंह सिजापति, जिल्ला सदस्यहरु अमृत कुमार आचार्य, पुष्पा शुक्ला, मेराज अहमद हलवाई, सितादेवी काफ्ले, नारायणी रुपाखेती, बन्दना सिंह, ध्रुब प्रसाद दाहाल र बालकृष्ण सुवेदीलाई प्रदेशमा सिफारिस गरिएको कार्यालय सचिव अमित कँडेलले बताउनुभयो ।

राष्ट्रिय सभा सदस्यका लागि जिल्लामा निवेदन पठाउनुभएका पूर्व पार्टी सभापति कृष्णमान श्रेष्ठको नाम पनि प्रदेशमा सिफारिस भएको छ ।

उता क्षेत्र नम्बर ३ बाट राष्ट्रिय सभा सदस्यका लागि जगदम्बा पाठक, हरिभक्त उप्रेती, केशबहादुर शाह, हरि प्रसाद ढुङ्गाना र शेर बहादुर गुरुङ सिफारिसमा परेको बताइएको छ ।

कांग्रेस बाँकेले क्षेत्रबाट सिफारिस भएर आएका तथा विविध कारणले क्षेत्रबाट छुट्न गई जिल्ला कार्यसमितिमा निवेदन परेका योग्यता पुगेका व्यक्तिहरूको नामावली प्रदेशमा पठाएको प्रवक्ता डिल्ली गिरीले बताउनुभयो । प्रवक्ता गिरीका अनुसार क्षेत्र नम्बर ३ बाट कुनै पनि सिफारिस जिल्लामा प्राप्त भएको छैन ।

प्रकाशित मिति: २६ मंसिर २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्