अख्तियारद्वारा नापी कार्यालयका पर्साका सर्वेक्षक र कार्यालय सहयोगीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर



वीरगञ्ज (पर्सा) । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।

आयोगको टोलीले गत मङ्सिर २ गते दुवै जनालाई रु एक लाख घुसररिसवतसहित पक्राउ गरेको थियो ।

आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले अनुसन्धानको सिलसिलामा नापी कार्यालयका सर्वेक्षक राउत र कार्यालय सहयोगी उपाध्याय समेतको आपसी मिलेमतोमा तथा योजनामा वीरगञ्ज महानगर–२५ स्थित कित्ता नम्बर ५५ क्षेत्रफल ०००६४ वर्गमिटर जग्गा छुट जग्गा दर्ता गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग रु एक लाख घुस माग गरी लिएको स्थापित भएको भन्दै भ्रष्टाचारको कसुरमा आरोपपत्र दायर गरेको जानकारी दिनुभयो ।

आयोगले दुवै जनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु एक लाख कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना सजाय हुन  मागदाबी गरेको छ ।

प्रकाशित मिति: २६ मंसिर २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्