रामपुर खाप नाका सञ्चालनको माग गर्दै अनिश्चितकालीन आमरण अनशन
रौतहट, मंसिर २९ । भारतसँग सीमा जोडिएको रौतहटको परोहा नगरपालिका–९ रामपुर खापमा रहेको छोटी भन्सार कार्यालय पुनः सञ्चालनको माग गर्दै सिमाना संघर्ष समितिले अनिश्चितकालीन आमरण अनशन सुरु गरेको छ ।
समितिका अध्यक्ष तथा पूर्व शिक्षक हाजी शेख तजमुल हकले आइतबार बेलुका करिब ३ बजेदेखि रामपुर खाप छोटी भन्सार कार्यालयको प्राङ्गणमा आमरण अनशन सुरु गरेका हुन् । समितिले सोमबारदेखि पूर्व गाविस उपाध्यक्ष जगत लाल यादव र समाजसेवी साहेब शाह कानु पनि अनशनमा सहभागी हुने कार्यक्रम रहेको बताएको छ ।
स्थानीयका अनुसार कोरोना महामारीको समयमा सशस्त्र प्रहरी बलको बीओपी रामपुर खाप र भारतीय सीमा सुरक्षा बल एसएसबीले सो नाकाबाट चारपाङ्ग्रे सवारी साधनको आवतजावत पूर्ण रूपमा बन्द गरेका थिए । महामारी समाप्त भएको लामो समय बितिसक्दा पनि सीमा नाका सञ्चालन नभएको भन्दै स्थानीयले गुनासो व्यक्त गरेका छन् ।
रामपुर खाप नाकाबाट भारततर्फ चारपाङ्ग्रे सवारी आवतजावत सहज नहुँदा सीमावर्ती गाउँका बासिन्दाहरू विवाह, काजक्रिया, उपचार, घरायसी कामकाज तथा दैनिक किनबेचका लागि समस्यामा परिरहेको समितिको भनाइ छ ।
दशकौँदेखि सञ्चालनमा रहेको रामपुर खाप छोटी भन्सार सरकार र माओवादी द्वन्द्वको समयमा असुरक्षाको कारण देखाउँदै जिल्ला भन्सार कार्यालय गौरमा गाभिएको थियो। छोटी भन्सार हटेको झन्डै दुई दशक बित्न लाग्दा पनि पुनः स्थापना हुन सकेको छैन ।
प्रकाशित मिति: २९ मंसिर २०८२, सोमबार












