शून्य नतिजा ल्याउने स्कुललाई कारबाही


 


काठमाडौं,असार १६

एसएलसी परीक्षामा राम्रो नतिजा नल्याएका विद्यालय र शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयले निर्देशन दिएको छ । राम्रो नतिजा ल्याउन नसकेका विद्यालय र शिक्षकलाई कारबाही गरी शिक्षा विभागमार्फत ४५ दिनभित्र मन्त्रालयमा जानकारी गराउन मन्त्रीस्तरीय बैठकले निर्देशन दिएको हो ।

कमजोर नतिजा ल्याउने विद्यालयको नतिजा सुधार गर्न नतिजा सुधार कार्ययोजना बनाई कार्यान्वयन गराउने, जिम्मेवारी किटान गर्ने र सोको प्रगति विवरण ४५ दिनभित्र मन्त्रालयमा अनिवार्य रूपमा जानकारी गराउनसमेत सोमबार मन्त्रीस्तरीय बैठकले निर्देशन दिएको छ ।

एसएलसी नतिजा सुधार र व्यवस्थापनका लागि दिइएको निर्देशन कडाइका साथ कार्यान्वयन गरिने शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले बताए । शिक्षा नियमावलीअनुसार एसएलसीमा लगातार दुई वर्ष १५प्रतिशतभन्दा कम विद्यार्थी उत्तीर्ण भएमा दुई ग्रेड रोक्ने व्यवस्था छ । तर, यो व्यवस्था खासै कार्यान्वयनमा आएको पाइँदैन ।

जिल्ला शिक्षा समिति, जिल्ला अनौपचारिक शिक्षा समिति र निम्न माध्यमिक शिक्षा परीक्षा समिति/माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समितिका निर्णयहरू जिल्ला शिक्षा कार्यालयबाट चौमासिक रूपमा क्रमश: शिक्षा विभाग, अनौपचारिक शिक्षा केन्द्र र परीक्षा नियन्त्रण कार्यालयमार्फत झिकाई अभिलेख राख्ने व्यवस्था गरी र सोको विश्लेषणसहितको विवरण मन्त्रालयमा पेस गर्न पनि मन्त्रालयले निर्देशन दिएको अाजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।

प्रकाशित मिति: १६ असार २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्