विदेश र अन्तरजिल्लामा मतदानको व्यवस्था गर्न चारवटा ऐन संशोधन गरिँदै
काठमाडौं । सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिन तथा अन्तरजिल्ला मतदानको व्यवस्थाका लागि विद्यमान चारवटा ऐन संशोधनको प्रक्रियामा रहेको जनाएको छ ।
सोमबार आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबारे गृह मन्त्रालयमा भएको सर्वपक्षीय छलफलमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेले यस्तो जानकारी दिएका हुन् ।
सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिन र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न ४ वटा विद्यमान ऐन संशोधनको प्रक्रिया अघि बढाएको उनले बताए ।
उनले भने- ‘वर्तमान सरकार गठन भइसकेपछि विदेशमा रहेका नेपाली नागरिकको लागि मतदानको व्यवस्था गर्न अन्तरजिल्लामार्फत प्रत्यक्षतर्फ वा समानुपातिकको लागि मतदान गर्ने व्यवस्था गर्न, कुनै पनि उमेदवारलाई समर्थन नरहेको भनि मतदान गर्ने व्यवस्थाका लागि सरकारले विभिन्न पक्षबाट आएका माग, सर्वोच्च अदालतबाट आएको फैसलाका आधारमा तत्कालीन सरकारले नै अगाडि सारेको विषयहरूलाई समेटेर सरकारले निर्वाचन आयोगसँगको सहकार्यमा चारवटा ऐन संशोधनको लागि अगाडि बढेको विषय जानकारी गराउन चाहन्छु ।’
विदेशमा रहेका नागरिकलाई मतदानमा सहभागी गराउन निर्वाचन ऐन, २०७३ र मतदाता नामावली ऐनमा आवश्यक संशोधनसमेत गरिएको काफ्लेको भनाइ छ ।
उनका अनुसार संशोधन प्रस्तावमा मतपत्रमा ‘कसैलाई पनि समर्थन नगर्ने’ विकल्प समावेश गरिएको छ। साथै अन्तरजिल्लाबाट समानुपातिक, प्रत्यक्ष वा दुवै तर्फ मतदान गर्न सकिने व्यवस्था पनि मस्यौदामा राखिएको छ।
प्रकाशित मिति: ७ पुस २०८२, सोमबार
















