कांग्रेस पार्टी कार्यालय अनुगमनमा सरकारी टोली



काठमाडौं । सरकारी टोलीले नेपाली कांग्रेसको पार्टी कार्यालयको अनुगमन गरेको छ ।

मंगलबार सरकारले गठन गरेको राजनीतिक संवाद समितिको टोलीले सानेपास्थित जेनजी आन्दोलनका क्रममा आगजनी भएको कांग्रेस पार्टी कार्यालयको अनुगमन गरेको हो ।

कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालसहितको टोलीले अनुगमनका लागि पुगेको थियो ।

सरकारी टोलीलाई कांग्रेस उपसभापति धनराज गुरुङ, सहमहामन्त्री बद्री पाण्डे, महालक्ष्मी उपाध्याय डीना, कोषाध्यक्ष उमेश श्रेष्ठ र कांग्रेस मुख्यसचिव डा। कृष्णप्रसाद पौडेल लगायतले स्वागत गरेका थिए ।

राजनीतिक दलहरुसँग सरकारले सम्बन्ध थप सुदृढ बनाउन संवादलाई अघि बढाइरहेको छ । सोमबार मात्रै सर्वपक्षीय वार्ता गरेको सरकारले जेनजी आन्दोलनको क्रममा क्षति पुगेका पार्टीका कार्यालयहरु अनुगमन गर्ने निर्णय गरेको थियो ।

जेनजी आन्दोलनका क्रममा नेपाली कांग्रेससहित नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत दलका कार्यालयहरु तोडफोड र आगजनी भएको थियो ।

यस्तै आजै नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (तत्कालीन माओवादी केन्द्र) लगायत दलका कार्यालयमा अनुगमनका लागि जाने तय भएको छ ।

प्रकाशित मिति: ८ पुस २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्