यी तीन प्रदेशमा आज वर्षा र हिमपातको सम्भावना



काठमाडौं, पुस १८ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायूको आंशिक प्रभाव छ ।

आज (शुक्रबार) बिहान तराई भू–भागका अधिकांश स्थानहरूमा बिहानीपख हुस्सु र कुहिरो लागिरहेको छ । जसका कारण जनजीवन प्रभावित भएको छ ।

आज दिउँसो देशका पहाडी तथा हिमाली भू‍–भागमा साधारण बदली हुने भएको छ भने बाँकी भू–भागमा आंशिक बदली रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू‍–भागका केही स्थानमा हल्का वर्षा हुनेछ ।

देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा भने हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै, राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बदली हुने भएको छ भने साथै बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहने भएको हो ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । साथै तराई भू–भागका केही स्थानहरूमा भने हुस्सु लाग्ने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: १८ पुस २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्