धुलिखेल–खावा सडक खण्डमा पाँच दिन टिप्पर सञ्चालन रोकिने



बनेपा, ८ असार जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक खण्डमा पाँच दिन टिप्पर सञ्चालनमा रोक लगाउने भएको छ ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा बसेको बैठकले धुलिखेल–खावा सडक खण्डको बाँकी निर्माण कार्य सम्पन्न गर्न एक लेन सडक बन्द गर्नुपर्ने भएकाले असार १४ गतेदेखि १८ गतेसम्म टिप्पर सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।

बैठकले उक्त अवधिमा टिप्पर सञ्चालनमा रोक लगाउनुका साथै अन्य सवारीसाधनलाई साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सडकमा प्रवेश गर्न नदिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताएका छन् ।

उहाँका अनुसार एम्बुलेन्सलगायत अत्यावश्यक सवारीसाधनलाई भने पूर्ववत् रूपमा सञ्चालन गर्न दिइनेछ ।

बैठकले राजमार्ग बन्द रहने अवधिमा सवारीसाधनको व्यवस्थापन तथा वैकल्पिक मार्ग प्रयोगका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर, दोलखा र सिन्धुपाल्चोकसँग सडक डिभिजन कार्यालय भक्तपुरले समन्वय गर्ने निर्णय गरेको छ ।

अरनिको राजमार्गअन्तर्गत धुलिखेलदेखि खावासम्मको करिब साढे चार किलोमिटर सडक विस्तार तथा स्तरोन्नतिको काम जारी छ । हालसम्म उक्त खण्डको करिब साढे दुई किलोमिटर सडक कालोपत्रे गरिएको छ ।

प्रकाशित मिति: ८ असार २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्