निर्वाचनका लागि डेढ लाख ‘निर्वाचन प्रहरी’ खटाइने



काठमाडौं, पुस १९ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि डेढ लाख प्रहरी खटाइने भएको छ । जसका लागि गृह मन्त्रालयले मापदण्ड तयार पारेको छ ।

शुक्रबार नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित बसेर गृहका अधिकारीले निर्वाचन प्रहरी भर्ना र खटनपटनको मापदण्ड तयार गरेका हुन् ।

शनिबार दुवै प्रहरीले आ–आफ्नो तर्फबाट भर्ना गर्ने जनशक्तिका बारेमा छुट्टाछुट्टै प्रस्ताव गृह मन्त्रालयमा बुझाउने र गृहसचिवले त्यसलाई स्वीकृत गरेपछि भर्ना प्रक्रियाको बाटो खुल्नेछ ।

गृह मन्त्रालयले नेपाल प्रहरीलाई १ लाख ३४ हजार निर्वाचन प्रहरी भर्ना गर्न अनुमति दिने भएको छ । सशस्त्र प्रहरीले १५ हजार भर्ना गर्न पाउने छ । नेपाल प्रहरीले १ लाख ३७ हजार ६४४ जना निर्वाचन प्रहरी माग गरेको थियो भने सशस्त्र प्रहरीले १६ हजार माग गरेको थियो ।

निर्वाचन प्रहरी भर्ना गर्न अर्थ मन्त्रालयले दुवै प्रहरीलाई स्रोत सुनिश्चितता गरिसकेको छ । अर्थबाट स्वीकृत भएको बजेट अनुसार दुवै प्रहरीले मापदण्ड बनाएका हुन् ।

तयार भएको मापदण्ड अनुसार निर्वाचन प्रहरीलाई भर्ना गरिसकेपछि १० दिनको तालिम दिइनेछ। त्यसपछि एक महिना निर्वाचनका लागि खटाइने छ ।

प्रकाशित मिति: १९ पुस २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्