जेन्जी आन्दोलनका नेता अर्जुन शाही पुनः पक्राउ



काठमाडौँ, पुस १९ । ठगी तथा आपराधिक विश्वासघातको मुद्दामा फरार रहेका जेन्जी आन्दोलनका नेता अर्जुनबहादुर शाही पक्राउ परेका छन् ।

मनसरी घलेसमेतको जाहेरीमा जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई पक्राउ गरेको हो । अछाम, पञ्चदेव विनायक नगरपालिका ४ घर भइ काठमाडौं, रानीपोखरी बस्ने २६ वर्षीय शाही ठगी तथा आपराधिक विश्वासघात र बैंकिङ कसूर (चेक अनादर) मुद्दाका फरार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले शाहीउपर विभिन्न मितिमा विभिन्न मुद्दा दर्ता भएको देखिएको प्रहरी प्रवक्ता पवन कुमार भट्टराईले बताए ।

शाही यसअघि असोज २९ गते बुधबार पनि पक्राउ परेका थिए । त्यतिखेर प्रहरीले जेन्जी भन्दै विभिन्न सरकारी कार्यालयमा गएर धम्क्याउने शाहीलाई कोटेश्वरबाट पक्राउ गरेको थियो । उनी त्यतिखेर पनि विभिन्न अपराधिक मुद्दामा फरार देखिएकाले पक्राउ परेका थिए ।

शाहीले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई पनि धम्क्याउँदै राजीनामा मागेका थिए । बैंकिङ कसुर, वैदेशिक रोजगारी ठगीलगायतका विभिन्न आपराधिक कसुरमा शाही फरार थिए ।

उनी सुशीला कार्कीको शपथको क्रममा सुधनसँगै जेन्जीको सहसंयोजक बनेर शीतल निवास छिरेका थिए । इलाम–२ बाट डोजर चिन्हमा उपचुनावमा उठेका उनले जम्मा ५५ भोटमात्र पाएका थिए ।

शाही अहिले जेन्जी रिभोलुसन नेपाल गठन गरेर संयोजक बनेका छन् । उनी अन्तरिम सरकार गठन गर्ने वार्ता समितिका सहसंयोजकसमेत रहेका थिए । उनले केही दिनअघि पत्रकार सम्मेलन गरेर आफूलाई फसाउन जेन्जी षड्यन्त्र भएको बताएका थिए ।

प्रकाशित मिति: १९ पुस २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्