देश निर्वाचनमा केन्द्रित भयो : संयोजक दाहाल



सङ्खुवासभा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश निर्वाचनतर्फ केन्द्रित भएको बताउनुभयो । 

प्रेस सेन्टरले आज खाँदबारीमा आयोजना गरेको पत्रकार भेटघाटमा संयोजक दाहालले देश निर्वाचनतर्फ केन्द्रित भइसकेका कारण अहिलेकै सरकारले निर्वाचन गराउने बताउनुभयो । 

उहाँले निर्वाचनका लागि दलले समानुपातिकतर्फको बन्द सूची निर्वाचन आयोगमा बुझाइसकेको अवस्थामा देश अब चुनावतर्फ होमिएको बताउनुभयो । 

जेनजी युवापुस्ता निर्वाचनका पक्षमा रहेकाले कुनै शङ्का गरिरहनुपर्ने अवस्था नभएको भन्दै दाहालले अब देशमा सर्वपक्षीय तथा सर्वदलीय सरकार बन्ने सम्भावना नरहेको र अर्को सरकार पुनर्गठन नहुने दाबी गर्नुभयो ।  

काठमाडौँ फर्किनुअघि पत्रकारसँग कुरा गर्दै संयोजक दाहालले अहिलेकै सरकारले फागुन २१ गते नै प्रतिनिधिसभा निर्वाचन गराउन सक्षम रहेको बताउनुभयो । 

“संविधानसभाबाट संविधान बनाउँदै गर्दा नै हामीले वाचा गरेका थियौँ, १० वर्षपछि संविधानको समीक्षा गरी संविधानमा भएका सकारात्मक र नकारात्मकका आधारमा संविधान संशोधन र परिमार्जन गर्नेछौँ”, उहाँले भन्नुभयो । 

जेनजी आन्दोलनको मर्म भावनाअनुसार अहिलेका राजनीतिक दलहरूले नयाँ जनादेशमा जानुपर्ने आवश्यकता भएको उहाँको भनाइ छ । निर्वाचनको प्रक्रिया सुरु भइसकेको संसद् पुनः स्थापना नहुने र अहिले भएकै सरकारले निर्वाचन सम्पन्न गराउनुपर्ने धारणा व्यक्त गर्नुभयो । नयाँ जनादेश प्राप्त गरिसकेपछि संविधान संशोधनको प्रक्रिया अघि बढाइने बताउनुभयो ।  

नेपाली कम्युनिष्ट पार्टी सङ्खुवासभाको एकता घोषणा कार्यक्रममा सहभागी हुन दाहाल र सहसंयोजक माधवकुमार नेपाल खाँदबारी आउनुभएको थियो । 

प्रकाशित मिति: १९ पुस २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्