रोल्पामा जीप दुर्घटना हुँदा दुई विद्यार्थीको मृत्यु, ९ जना घाइते
दाङ, पुस २० । रोल्पामा जीप दुर्घटनामा हुँदा दुई जना विद्यार्थीको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।
गाम खोला सेरमबाट विद्यार्थी बोकेर स्युरीतर्फ जाँदै गरेको ग १ ज ६६६६ नम्बरको बोलेरो जीप गएराति करिब १० बजे अनियन्त्रित भई दुर्घटना हुँदा सुनछहरी गाउँपालिका–४ स्युरीका १२ वर्षीया दीपा पुन र १२ वर्षीय सुनिल विकको मृत्यु भएको हो ।
रोल्पा प्रहरीका अनुसार उनीहरू राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागी भई घर फर्किंदै गर्दा दुर्घटनामा परेका हुन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर पुर्याइए पनि चिकित्सकले राति साढे १२ बजे मृत घोषणा गरेका थिए ।
दुर्घटनामा घाइते भएका नौ जना विद्यार्थीलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुटवलस्थित लुम्बिनी सिटी अस्पताल रिफर गरिएको छ । जीप दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले छ ।
प्रकाशित मिति: २० पुस २०८२, आइतबार












