नेपाललाई ‘डिजिटल हाइवे’ मा अगाडि बढाउने काम भइरहेको छ : सञ्चारमन्त्री खरेल
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाललाई ‘डिजिटल हाइवे’ मा अगाडि बढाउने गरी काम गरिरहेको बताउनुभएको छ।
आइसिटी अवार्ड–२०२५का विजेतासँग आइतबार मन्त्रालयमा भएको छलफलमा मन्त्री खरेलले डिजिटल नेपालका लागि नीतिगत सुधारका काम भइरहेको उल्लेख गर्नुभयो।
सञ्चारमन्त्री खरेलले भन्नुभयो,“डिजिटल नेपालको रोडम्याप बनाएर मुलुकलाई अगाडि बढाउन खोजिरहेका छौँ, त्यसको भविष्य भनेको तपाईं सूचना प्रविधिको क्षेत्रमा नवीनतम सिर्जना र योगदान गरिरहेका व्यक्ति तथा संस्थाहरु नै हो।”
मन्त्री खरेलले सूचना प्रविधि क्षेत्रको विकासका लागि सम्बन्धित मन्त्रालयसम्म जोडिनका लागि पुलको भूमिका निर्बाह गर्न सम्पर्क मन्त्रालयको रुपमा सञ्चारमन्त्रालयले भूमिका खेल्ने विश्वास दिलाउनुभयो।
उहाँले सूचना प्रविधिको विकासका लागि बजेट प्रयाप्त नभएको, नीतिगत उल्झनका साथै भएका नीतिको समेत कार्यान्वयनमा सिथिलताका कारण यस क्षेत्रको यथोचित विकास र प्रगति हुन नसकेको उल्लेख गर्नुभयो।
उहाँले सरकार गठन भएको तीन महिनाभित्रै ‘राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति’ पारित गरेको जानकारी गराउँदै डिजिटल नेपालको नीतिगत व्यवस्थाका लागि तयारी भइरहेको जानकारी दिलनुभयो।
अवार्ड विजेतासँग मन्त्रालयले अन्तरक्रिया गरेर राज्यले यस क्षेत्रप्रतिको सम्मान गरेको बताउनुभयो। उहाँले भन्नुभयो,“निजी क्षेत्रबाट कुनै संस्थाको अग्रसरतामा तपाईंहरु सम्मानित हुनुभएको छ, जहाँ सरकार जोडिएकै हुन्छ, त्यसैले यो सम्मान राज्यको सम्मान हो। तपाईंहरुको सवाल डेढ घण्टासम्म सुनेर ग्रहण गरेका छौँ।”
मन्त्री खरेलले सूचना प्रविधिको विकासका साथै डिजिटल नेपाल निर्माणका लागि यस क्षेत्रका विज्ञ सरोकारसँग नवप्रवर्तन, स्टार्टअप, उद्यमशीलता र सूचना प्रविधिको क्षेत्रमा सरकारसँग समन्वय र सहकार्य गरेर काम गर्नुपर्नेमा जोड दिनुभयो।
प्रकाशित मिति: २० पुस २०८२, आइतबार












