कञ्चनपुरको दक्षिणी क्षेत्रमा जंगली हात्तीको आतङ्क बढ्दै



कञ्चनपुर, पुस २१ । कञ्चनपुरको दक्षिणी क्षेत्रमा जङ्गली हात्तीले आतङ्क मच्चाउन थालेको छ ।

पुस पहिलो सातादेखि बस्ती प्रवेश गरेको जङ्गली हात्तीको आतङ्कले स्थानीयलाई घर र बालीनाली जोगाउन मुस्किल भएको छ ।

दक्षिणी क्षेत्र बेलडाँडीमा बस्ती प्रवेश गरेको एउटा दन्ते हात्तीले बेलडाँडीस्थित झिलमिला, इमिलियालगायत क्षेत्रमा आतंक मच्चाइरहेको हो ।

आइतबार बिहान ४ बजे सो दन्ते हात्तीले बेलडाँडी गाउँपालिका–५, झिलमिलाका स्थानीय कमल गिरी, नेपाली गिरी र बिरजनी गिरीको घर भत्काउनुका साथै अन्नबालीमा क्षति पु¥याएको छ ।

रातको समयमा घरमा क्षति पु¥याउँदा परिवारका सदस्य भने भागेर बाँच्न सफल भएका इलाका प्रहरी कार्यालय बेलडाँडीले जनाएको छ ।

जङ्गली हात्तीले घर भत्काएपछि घरमा बस्दै आएका चार सदस्य बिचल्लीमा परेका छन् । जङ्गली हात्तीले घर भत्काउनुका साथै स्थानीयका गहुँ र तोरी नष्ट गरेको छ ।

यसअघि पुस १६ गते राति अचानक गाउँ छिरेका हात्तीले आक्रमण गर्दा भीमदत्त नगरपालिका–१९, बागफाँटाका स्थानीय छक्कु डगौरा घाइते भएका थिए । उनको टाउको, अनुहार र छातीमा चोट लागेर गम्भीर घाइते भएका डगौराको कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: २१ पुस २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्