मुगुमा सेनाको जिप दुर्घटना, अमलदारको मृत्यु
जुम्ला, पुस २१ । मुगुमा सेनाको बोलेरो जिप दुर्घटना हुँदा एक अमलदारको मृत्यु भएको छ ।
हनुमान ध्वज गुल्म हुटु रारादेखि भुलभुलेसम्म सैनिक पु¥याउन गएको न १ झ १०३९ नम्बर जिप फर्किने क्रममा दुर्घटना हुँदा अमलदार चालक हरिसिंह ऐडीको मृत्यु भएको हो ।
मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीका अनुसार बैतडीको पाटन–४ बगाडी स्थायी ठेगाना भएका चालक ऐडीलाई मुगु अस्पतालले बिहान १ बजेर ३० मिनेटमा मृत घोषणा गरेको थियो । घाइते चालकलाई राति १० बजे नै मुगु अस्पतालमा ल्याइपु¥याइएको भए पनि बचाउन नसकिएको उनले बताए ।
जिप रारा छायानाथ नगरपालिका–७ मा रहेको पिना प्रहरी चौकीदेखि अगाडि आलादुना खोलाको मोडमा दुर्घटनामा परेको थियो । बोलेरो सडकदेखि २ सय मिटर तल खसेको थियो । दुर्घटनाको कारण पत्ता लागेको छैन ।
प्रकाशित मिति: २१ पुस २०८२, सोमबार












